11/03/2016
नेपालको भूकम्पपछिको अवस्थाबारे जापानी युवराजको चासो नेपाल सरोकार संवाददाता
टोक्यो । जापानी युवराज नारुहितोले नेपालमा भूकम्पपछिको अवस्थाबारे चासो व्यक्त गरेका छन् ।
जापानी चलचित्र ‘एभरेस्ट : दि समिट अफ दि गड्स’ (सगरमाथा : देवीदेवताको शिखर) हेरेपछि टोकियोस्थित नेपाली कार्यवाहक राजदूत गेहेन्द्रराज भण्डारीलाई भेटेरै सोधे, ‘भूकम्पले भत्काएको संरचना र पुनर्निर्माणको स्थिति कस्तो छ ?’
उनले महाभूकम्पको विनाशप्रति दु:ख व्यक्त गर्दै ‘सुन्दर मुलुक नेपाललाई परेको विपतमा सहयोग गर्न जापान नचुक्ने’ शुभेच्छासमेत प्रकट गरे ।
चलचित्र हेर्न युवराज नारुहितो, युवराज्ञी मासाको ओवादा र राजकुमारी आइको पनि उपस्थित थिए । सगरमाथा आधार शिविर र आसपास छायांकन गरिएको उक्त फिल्म जापानको प्रख्यात उपन्यास ‘कामिगामी नो इटाडाकी’ अर्थात् देवीदेवताको चुचुराको कथामा आधारित छ ।
जापानका प्रसिद्ध उपन्यासकार बाकु युमेमाकुराले यसलाई लेखेका हुन् । जापानी आरोहीको संघर्षपूर्ण सगरमाथा आरोहणलाई रोचक ढंगले प्रस्तुत गरिएको उक्त सिनेमा जापानमा यसै साता हलहरूमा लाग्नेछ ।