26/12/2025
डडेलधुरा—त्यो भूमि जसले शेरबहादुर देउवालाई पाँच-पाँच पटक देशको प्रधानमन्त्री बन्ने शक्ति दियो। तर आज प्रश्न उठ्छ, त्यो शक्तिले डडेलधुराका आम नागरिकलाई के दियो? आज पनि कैयौँ गाउँहरू अन्धकारमा छन्, न राम्रो विद्यालय छ, न त भरपर्दो सडक र रोजगारी। हाम्रा दिदीबहिनीहरू अझै पनि शिक्षा र स्वास्थ्यको न्यूनतम अधिकारबाट वञ्चित छन्, जबकि सत्तामा पुगेकाहरूको परिवार काठमाडौँ र विदेशका महलहरूमा राजकीय जीवन बिताइरहेका छन्।
नदी बेचिए, सपना लुटिए
शेरबहादुर देउवाको कार्यकालमा टनकपुर सम्झौता र महाकाली सन्धिमार्फत नेपालको जलअधिकार भारतलाई बुझाइयो। महाकाली सन्धि भएको दशकौँ भइसक्यो, तर पञ्चेश्वर परियोजना अझै अलपत्र छ। विडम्बना त यो छ कि जसको आँगनबाट बग्ने नदीको सम्झौता भयो, त्यहीँका मानिसहरू आज एक गाग्री सफा खानेपानीका लागि घण्टौँ हिँड्न बाध्य छन्। के यही हो हामीले चुनेर पठाएको नेताको विरासत?
झुटो आश्वासन र 'फेक' नारीवाद
आरजु देउवा डडेलधुरामा महिला सशक्तिकरणका ठूला कुरा गर्छिन्। तर गाउँका आधा महिलाहरू अझै शिक्षा र सामान्य स्वास्थ्य सुविधा (स्यानिटरी प्याड) सम्मको पहुँचमा छैनन्। आफ्ना छोरा-बुहारी विदेशमा विलासी जीवन बिताउने, तर नेपाली जनता कोभिडको समयमा मास्क र स्वास्थ्य सामग्रीको घोटालामा लुटिनुपर्ने? यो कस्तो न्याय हो?
हाम्रो आत्मसम्मानमाथि प्रहार
"डडेलधुरा काठमाडौँभन्दा २०० वर्ष पछाडि छ" भन्दै भाषण गर्नेहरूले कहिल्यै सोचेका छन्—यो पछौटेपनको जिम्मेवार को हो? के उनीहरूले हाम्रो घर बनाउन इँटा बोके? के उनीहरूले हाम्रो पर्खाल प्लास्टर गरिदिए? अहिल्यै पनि उनीहरू आफ्ना महल ठड्याउन र परिवारलाई विश्व भ्रमण गराउन व्यस्त छन्, र हामीलाई भने गरिबीको खाडलमा छोडिदिएका छन्।
अब जाग्ने बेला आएको छ
डडेलधुराका आमा-बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू! हामी कहिलेसम्म यो परिवारको भ्रममा परिरहने? हाम्रा नदी नाला बेच्ने, देश लुट्ने र हामीलाई झुटो सपना देखाउनेहरूका अगाडि अब कतिन्जेल शिर निहुराउने? यदि हामी अझै पनि उनीहरूकै पछि लागिरह्यौँ भने हामी पीडित होइनौँ, उनीहरूका 'दास' ठहरिनेछौँ।
अब आँखा खोल्ने बेला आएको छ। अब देउवा परिवारको अगाडि होइन, सत्य र डडेलधुराको भविष्यका लागि उभिने बेला आएको छ। हाम्रो मौनता नै उनीहरूको शक्ति हो, त्यसैले अब बोल्ने पालो हाम्रो हो।
Pic Credit: Taken from Social Media.