29/07/2026
हामी कहिले जातपातका आधारमा विभाजित भयौँ, कहिले राजनीतिक विचारधाराका नाममा - 'कम्युनिस्ट' र 'काङ्ग्रेस' बनेर जुध्यौँ, त कहिले 'राजावादी' र 'गणतन्त्रवादी'का नाममा टकरायाौँ । अनि आज, धार्मिक ध्रुवीकरणको आगो सल्काएर 'हिन्दू' र 'मुस्लिम'का नाममा लड्ने आत्मघाती बाटोतर्फ अग्रसर छौँ ।
प्रकृतिले मानिसलाई जन्माउँदा केवल 'मानव' बनाएर पठाउँछ । तर जन्मपश्चात यो समाज र यसका संरचनाहरूले कसैलाई हिन्दू त कसैलाई मुस्लिम, कसैलाई ब्राह्मण त कसैलाई दलितको बिल्ला भिराइदिन्छन । आज हामीलाई विभाजित गर्न जातीय र धार्मिक सङ्कीर्णता मात्र पर्याप्त छैन, राजनीतिक दलहरू र तिनका सङ्कीर्ण स्वार्थ पनि उत्तिकै हाबी छन । कोही काङ्ग्रेस, कोही कम्युनिस्ट, कोही रास्वपा त कोही राप्रपाका नाममा कित्ताकाटिएका छन । यस निरर्थक सङ्घर्षको कोलाहलमा हामीले एउटा शाश्वत सत्य बिर्सिएका छौँ जात, धर्म र राजनीतिक विचारधाराभन्दा माथि हाम्रो प्राथमिक पहिचान 'मानवता' हो । जब मानिसले आफ्नो मूल मानवीय अस्तित्व बिर्सन्छ, तब समाजमा विभिन्न बहानामा द्वन्द्व र विखण्डनको बिजारोपण हुन्छ ।
पुर्बी नेपालका सुनसरी लगायतका केही जिल्लामा बिगत 2-3 दिन देखि भएको जातिय द्वन्द हेर्दा यस्तो लाग्छ नेपालमा पनि बिस्तारै धार्मिक र सामाजिक द्वन्द्वको भुसको आगो सल्किँदै गएको आभास हुन्छ । यदि समयमै यसलाई नियन्त्रण गरिएन भने यसको तापले हाम्रै सामाजिक सद्भाव र अस्तित्वलाई भस्म पार्नेछ । आखिर यो द्वन्द्वको बीउ कसले रोप्यो? किन र कुन अभीष्ट पूरा गर्न रोप्यो? परापूर्वकालदेखि मिलेर बसेको साझा समाजलाई कसले भड्काउँदै छ?
यसको वस्तुनिष्ट उत्तर खोतल्दा राजनीतिक चेतनाको विचलन र सत्ता-केन्द्रित राजनीति नै मुख्य कारक देखिन्छ । राजनीति जब निष्ठा र सेवाबाट च्युत भएर सत्ताप्राप्तिको साधन मात्र बन्छ, तब त्यहाँ मानवीय संवेदनाको अन्त्य हुन्छ । सत्ताको भोकमा नागरिकको बलि चढाएर आफ्नो स्वार्थ सिद्ध गर्न उद्यत तत्त्वहरूका लागि समाजमा अशान्ति र विभाजन फैलिनु नै सबैभन्दा ठूलो अनुकूलता बन्न पुग्छ ।
"संसारमा एउटै सर्वोपरि धर्म छ मानवता । बाँकी सबै कृत्रिम संरचनाहरू मानिसले मानिसमाथि शासन गर्न र नियन्त्रण कायम गर्न निर्माण गरेका अवधारणा मात्र हुन ।"
केही क्षणका लागि धर्म, जात र राजनीतिको सङ्कीर्ण दायराबाट माथि उठेर सोचौँ हामी सबैभन्दा पहिले मानिस हौँ । हाम्रो देश विविध फूलहरूको एउटा साझा फूलबारी हो । शान्तिका दूत भगवान् बुद्धको जन्मभूमिमा यसरी धार्मिक वा सामाजिक वैमनस्यता उत्पन्न हुनु अत्यन्तै दुःखद र चिन्ताजनक विषय हो ।
कतिपय अवस्थामा बाह्य शक्तिहरू वा भू-राजनीतिक स्वार्थहरूले पनि हाम्रो आन्तरिक एकता र शान्तिलाई बिथोल्न प्रयत्न गरिरहेका हुन सक्छन । तर, हामीले आफ्नो विवेक र चेतना गुमाउनु हुँदैन ।
दुःख होस या सुख, विपत्ति होस या उत्सव अन्त्यमा हामीलाई हाम्रै छिमेकी चाहिन्छ, चाहे त्यो हिन्दू होस या मुस्लिम, बुद्धमार्गी होस या किरात । हामी एउटै माटोमा पाइला टेक्छौँ, एउटै मूलको पानी पिउँछौँ र एउटै वातावरणको अक्सिजन ग्रहण गर्छौँ । हाम्रा मस्तिष्कमा रोपिएका विभाजनका बीउहरू पराईका स्वार्थ हुन्; तिनलाई जरैदेखि उखेलेर फाल्नुपर्छ ।
हाम्रो सर्वोच्च पहिचान 'नेपाली' हो । यदि यो आधारभूत सत्यलाई प्रत्येक नागरिकले आत्मसात गर्ने हो भने, कुनै निर्दोषको रगत बग्ने छैन, कसैले अकालमा ज्यान गुमाउनुपर्ने छैन । धर्म वा राजनीतिको नाममा हुने हिंसामा ज्यान गुमाउनेहरूलाई कुनै ईश्वर वा भगवान्ले जोगाउन आउँदैनन बचाउने र सिध्याउने दुवै तिनै मानिस हुन जो भ्रमको जालमा जेलिएका छन ।
त्यसैले, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अपिल छ विभाजन होइन एकता रोजौँ, हिंसा होइन प्रेम बाँडौँ, रगत होइन समृद्धिका लागि पसिना बगाऔँ । तब मात्र एउटा सभ्य, शान्त र समुन्नत नेपालको निर्माण सम्भव हुनेछ ।