06/06/2026
नेपाली क्रिकेट टोलीसँग स्वागत तथा सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
EUT20 अन्तर्गत युरोपियन क्रिकेट लिगमा सहभागी हुन बेल्जियम आउनुभएका नेपाली क्रिकेट टोलीका खेलाडीहरूसँग आयोजित स्वागत, सम्मान तथा पत्रकार सम्मेलन तथा नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रम आज एन्टवर्पेन स्थित Osysstraat 33, 2060 Antwerpen मा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा बेल्जियमस्थित विभिन्न नेपाली संघ–संस्था, व्यवसायी, पत्रकार, खेलप्रेमी तथा नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको प्रारम्भमा नेपाली व्यवसायी संघ बेल्जियम (NEBAB) का अध्यक्ष श्री कासी दनैज्यूले खेलाडीहरूलाई फूलको गुच्छा प्रदान गरी स्वागत गर्दै कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नुका साथै उपस्थित खेलाडीहरू र सम्पुर्ण महानुभावहरू प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै खेलाडीहरूको खेलको लागि शुभकामना व्यक्त गर्नु भएको थियो। त्यसैगरी नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष श्री ओम शर्माज्यूले खेलाडीहरूलाई खादा लगाई सम्मान गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ (NEBAB) बेल्जियमका अध्यक्ष श्री कमल पन्थीज्यूले नेपाल विश्वमा केवल सगरमाथा र गौतम बुद्धको नामबाट मात्र नभई अब क्रिकेट खेलमार्फत पनि थप चिनिन थालेको उल्लेख गर्दै नेपाली क्रिकेटको उज्ज्वल भविष्यप्रति विश्वास व्यक्त गर्नुभयो। उहाँले भोलिबाट प्रारम्भ हुने प्रतियोगिताका खेलहरूमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। त्यसैगरी खेलाडी संघ बेल्जियमका कार्यवाहक अध्यक्ष श्री मिन क्षेत्रीज्यूले पनि नेपाली टोलीलाई सफलताको शुभकामना व्यक्त गर्दै खेलाडीहरूको मनोबल उच्च राख्न सम्पूर्ण नेपाली समुदाय एकजुट हुनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रमका क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरिएको थियो। सहभागीहरूले प्रतियोगितासम्बन्धी जिज्ञासा राख्नुका साथै खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। । वक्ताहरूले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रालाई थप सशक्त बनाउन विश्वभर रहेका नेपाली समुदायको निरन्तर साथ, समर्थन र उत्साह आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो। ।
कार्यक्रमको सञ्चालन नेपाली व्यवसायी संघ बेल्जियमका महासचिव श्री भुवन सुवेदीज्यूले गर्नुभएको थियो। कार्यक्रम नेपाली व्यवसायी संघ बेल्जियम (NEBAB) र नेपाल पत्रकार महासंघ बेल्जियम को संयुक्त सहकार्यमा सम्पन्न भएको थियो।
अन्त्यमा नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष श्री ओम शर्माज्यूले कार्यक्रमलाई सफल बनाउन उपस्थित सम्पूर्ण महानुभाव, पत्रकार मित्र, स्वयंसेवक तथा सहयोगीहरूलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै भोलिबाट प्रारम्भ हुने EUT20 प्रतियोगितामा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हार्दिक सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।