27/07/2026
सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकामा भएको दुःखद घटनाले सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ। यस घटनामा ज्यान गुमाउनुहुनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। साथै घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
झण्डा राख्ने वा DJ बजाउने विषयबाट सुरु भएको विवाद हिंसामा परिणत हुनु अत्यन्त दुःखद र चिन्ताजनक हो। प्रहरीको गोली चल्दा एक जनाको ज्यान गएको छ भने प्रहरीसहित धेरै व्यक्ति घाइते भएका छन्। घटनापछि सुनसरी, मोरङ तथा मधेश प्रदेशका केही स्थानमा सडक अवरुद्ध, टायर बालेर प्रदर्शन तथा विरोधका कार्यक्रम भएका छन्। यस्तो परिस्थितिमा सबै पक्षले संयमता अपनाउनु अत्यन्त आवश्यक छ।
हामीले गम्भीर रूपमा सोच्नुपर्ने प्रश्न छ किन यस्ता घटना पटक पटक दोहोरिन्छन्? के हामी अझै पनि संवाद, सहिष्णुता र समझदारीभन्दा घृणा, आक्रोश र हिंसालाई रोजिरहेका छौं? कुनै पनि विवादको समाधान हिंसा होइन। हिंसाले केवल पीडा, आँसु र अपूरणीय क्षति मात्र दिन्छ।
न्याय भावना, अफवाह वा पूर्वाग्रहका आधारमा होइन, सत्य तथ्यका आधारमा हुनुपर्छ। घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गरी कानुनविपरीत काम गर्ने जो कोही भए पनि कानुनी दायरामा ल्याइनुपर्छ। साथै बल प्रयोग आवश्यक र कानुनसम्मत थियो वा थिएन भन्ने विषयको पनि निष्पक्ष अनुसन्धान हुनुपर्छ।
धर्म, जाति, भाषा वा संस्कृतिको आधारमा कसैलाई अपमान गर्ने, उक्साउने वा हिंसामा धकेल्ने कुनै पनि कार्य स्वीकार्य हुन सक्दैन। नेपाल बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक देश हो। विविधता हाम्रो कमजोरी होइन, हाम्रो शक्ति हो। त्यसैले एकअर्काको आस्था, संस्कृति र पहिचानको सम्मान गर्नु सबैको जिम्मेवारी हो।
घटनापछि केही दिनमा सडक खुल्न सक्छ, प्रदर्शन रोकिएला र अवस्था सामान्य बन्ला। तर एउटा परिवारले गुमाएको छोरा कहिल्यै फर्केर आउँदैन। बिहान “साथीसँग जान्छु, बेलुका फर्किन्छु” भनेर घरबाट निस्किएको छोरा साँझ घर नफर्किँदा आमाबुबाले भोग्ने पीडा शब्दमा व्यक्त गर्न सकिँदैन। कुनै पनि आमाले “मेरो छोरा कहाँ छ?” भनेर सोध्दा त्यसको उत्तर कसैले दिन सक्दैन। यही यथार्थले हामीलाई सम्झाउँछ मानिसको जीवनभन्दा मूल्यवान् केही पनि छैन।
हिन्दूले आफ्नो धर्म र संस्कृतिको सम्मान गर्नुपर्छ, मुस्लिमले आफ्नो धर्म र संस्कृतिको सम्मान गर्नुपर्छ। तर त्योभन्द