13/08/2026
देशभर मनसुनी वायुको प्रभाव, कोशीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानको आसपास रहेको छ।
हाल देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ। मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार कोशी, गण्डकी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मनसुनी गतिविधि सक्रिय रहेकाले आगामी दिनमा पनि देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
आज दिउँसोको मौसम
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। मधेस प्रदेश तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने आंशिक बदली रहनेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी, मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
राति पनि वर्षाको सम्भावना
आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
बाढी, पहिरो र भूक्षयको जोखिम
महाशाखाले भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्ने भन्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
वर्षाका कारण दैनिक जनजीवन प्रभावित हुनुका साथै कृषि, स्वास्थ्य सेवा, पर्यटन तथा पर्वतारोहणमा समेत असर पर्नसक्ने विभागको भनाइ छ। त्यस्तै, सडक तथा हवाई यातायात सेवा प्रभावित हुनसक्ने भएकाले यात्रा गर्दा मौसमको अवस्था र सम्बन्धित निकायको सूचना हेर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने यात्रु, किसान, पर्यटक तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसममा आउने परिवर्तनप्रति सचेत रहन विभागले आग्रह गरेको छ।