19/08/2026
१८७औँ विश्व फोटोग्राफी दिवसको अवसरमा हार्दिक शुभकामना
काठमाडौं, १९ अगस्ट २०२६
आज १९ अगस्ट २०२६ का दिन विश्वभर मनाइँदै गरिएको १८७औँ विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (NFPJ Nepal) का तर्फबाट सम्पूर्ण फोटोपत्रकार, फोटोग्राफर, सञ्चारकर्मी, पत्रकार, कलाकार तथा फोटोप्रेमीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
फोटोग्राफी केवल दृश्य कैद गर्ने माध्यम मात्र नभई समाज, समय, इतिहास, संस्कृति र मानव जीवनका महत्वपूर्ण घटनालाई अभिलेखीकरण गर्ने शक्तिशाली माध्यम हो। विशेषगरी फोटोपत्रकारिताले सत्य, तथ्य र घटनालाई तस्वीरमार्फत आम नागरिकसमक्ष सूचना पुर्याउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र सूचनाको अधिकारलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान गर्दै आएको छ।
नेपालको सन्दर्भमा पनि फोटोपत्रकारहरूले प्राकृतिक विपद्, राजनीतिक परिवर्तन, सामाजिक आन्दोलन, संस्कृति, पर्यटन, वातावरण, खेलकुद तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका घटनाहरूलाई आफ्नो क्यामेरामार्फत दस्तावेजीकरण गर्दै आएका छन्। नेपाली फोटोपत्रकारिताले नेपालको मौलिकता, प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र सामाजिक जीवनलाई विश्वसामु चिनाउन समेत उल्लेखनीय भूमिका निर्वाह गरेको छ।
यस वर्षको विश्व फोटोग्राफी दिवसलाई विशेष रूपमा मनाउने क्रममा राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (NFPJ Nepal) ले हनुमानढोका दरबार परिसरमा बंगलादेश फोटो पत्रकार संघ (BPJA) बाट नेपाल भ्रमणमा आउनुभएका १२ जना फोटो पत्रकारहरूको सहभागितामा ‘सुन्दर बंगलादेश’ फोटो प्रदर्शनी आयोजना गरेको छ। यसैगरी, चाइना कल्चरल सेन्टर नेपालको आयोजनामा नेपाल भ्रमणमा गएका नेपाली फोटोपत्रकारहरूले चीनमा खिचेका करिब ५० वटा सुन्दर तथा महत्वपूर्ण तस्वीरहरूको ‘Through the Eyes of Nepali Photojournalists – China’ फोटो प्रदर्शनी पनि हनुमानढोका दरबार परिसरमा आयोजना गरिएको छ।
नेपाल, बंगलादेश र चीनका फोटोपत्रकार तथा सांस्कृतिक संस्थाबीचको सहकार्यमा आयोजना गरिएका यी फोटो प्रदर्शनीहरूले तीन देशबीचको सांस्कृतिक आदान–प्रदान, आपसी मित्रता, पर्यटन प्रवद्र्धन तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको छु। तस्वीरको माध्यमबाट देश, समाज र संस्कृतिलाई नजिकबाट बुझ्ने तथा आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने यो एउटा महत्वपूर्ण अवसर पनि हो।
साथै, नेपालमा फोटोग्राफी तथा फोटोपत्रकारिताको विकासका लागि निरन्तर सहयोग, सहकार्य र सद्भाव प्रदान गर्ने सरकारी तथा गैरसरकारी निकाय, सञ्चारमाध्यम, पर्यटन क्षेत्र, कूटनीतिक तथा सांस्कृतिक संस्थाहरू, स्वदेशी तथा विदेशी फोटोपत्रकार र सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।
“तस्वीरले इतिहास बोल्छ, फोटोग्राफीले संसार जोड्छ।”
१८७औँ विश्व फोटोग्राफी दिवसले नेपाली फोटोग्राफी र फोटोपत्रकारितालाई अझ व्यावसायिक, मर्यादित, सिर्जनशील र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।
हार्दिक शुभकामना।
प्रदीपराज वन्त
अध्यक्ष
राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (NFPJ Nepal)
काठमाडौं, नेपाल